वैशाख १८,
काठमाडौं । पार्टी एकताका लागि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी छलफलमा जुटेका छन्। उपेन्द्र यादव नेतृत्वको फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकताका लागि केही दिनदेखि दुवैपक्षका नेता छलफलमा जुटेका हुन्। नयाँ शक्तिले पार्टी एकतालगायत विषयमा छलफल गर्न शुक्रबार सचिवालय बैठक बोलाएको छ। फोरमले पनि २१ गते बैठक डाकेको छ।
‘हामी छलफलमा जुटिरहेका छौं, अहिलेसम्म पार्टी एकताका लागि चलेको छलफल सकरात्मक छ,’ नयाँ शक्तिका एक नेताले भने, ‘अहिले समाचार बनाइहाल्ने गरी प्रगति भइसकेको छैन। २० गतेसम्म कुर्नुहोस्।’ नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष भएजस्तै आफूहरूले पनि यादव र भट्टराईलाई नै अध्यक्ष बनाएर पार्टी एकता गर्न लागेको स्रोतको भनाइ छ।
गतवर्ष भएको स्थानीय तहको चुनावमा नयाँ शक्तिले फोरमको चिन्ह लिएर उठेको थियो। त्यसबेला पनि छलफल भयो एकता भएन। फोरम स्रोतका अनुसार, २१ गते डाकेको बैठकमा एकताकै विषयमा छलफल हुने छ। २८ गतेदेखि हुने भनिएको महाधिवेशन सार्ने पनि उक्त बैठकमा कुरा हुनेछ।