Sunday, September 27, 2026
Home राजनीति हुरीबतास प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा समस्या हुन नदिन प्रमको निर्देशन

हुरीबतास प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा समस्या हुन नदिन प्रमको निर्देशन

98

चैत १८,
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिनुभएको थियो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।-रासस