Sunday, September 27, 2026
Home राजनीति आमाको नामबाट नागरिकता दिनेबारे राज्य व्यवस्था समितिका सदस्य विभाजित

आमाको नामबाट नागरिकता दिनेबारे राज्य व्यवस्था समितिका सदस्य विभाजित

110

माघ ११, काठमाडौँ
संविधानले आमाको नाममा नागरिकता पाउने सुनिश्चित गरेको छ । तर संवैधानिक व्यवस्था कार्यान्वयनका लागि कानुन बनाउने क्रममा भने विवाद देखिएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा आमाको नाममा नागरिकता दिने विषयलाई लिएर संसदीय समितिले अझै सहमति जुटाउन सकेको छैन ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा आमाको नाममा नागरिकता दिने, नागरिकता ऐन संशोधन विधेयकको दफा २ पारित गर्ने कार्यसूचि थियो । तर पूर्वगृहमन्त्री एवं नेकपा सांसद जनार्दन शर्माले बैठकको सुरुमै छलफलको औचित्यमाथि नै प्रश्न उठाए। उनले नागरिकताका बिषयमा बहुमत वा अल्पमतभन्दा राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए ।
त्यसपछि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसद हृयदेश त्रिपाठी संविधानमा आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था राख्ने दलहरु अहिले कानुन बनाउन हच्किएको भन्दै कड्किए ।

छलफलमा भाग लिएका अधिकांश सांसदले आमाको नामबाट नागरिकता लिने सन्तानको नागरिकतामा नै बाबुको पहिचान नभएको उल्लेख गर्दा त्यसले पीडितलाई थप पीडा हुने धारणा राखे । उनीहरुले बाबुको पहिचान नभएको उल्लेख नगरी नागरिकता दिन आवश्यक परे संविधान नै संशोधन गरिनुपर्ने बताए ।

तर सरकारी अधिकारीले भने पहिले पहिचान नखुलेका बाबु पछि विदेशी भएको खुलेमा समस्या आउने भएकाले नागरिकता वा सरकारी अभिलेखमा बाबुको पहिचान नखुलेको लेख्नुपर्ने आवश्यकता औंल्याए ।

समितिले यो विवादमा आवश्यक परे राजनीतिक दलको शिर्ष नेतृत्वसँग छलफल गर्ने बताएको छ । यसले नागरिकता विधेयक तत्काल टुंगोमा नपुग्ने देखिन्छ ।-कान्तिपुर