आखिर किन गर्दैछन् हारगुहार जिसस भक्तपुरका प्रमुख गेलाल ?

639

चैत ७,
भक्तपुर । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले स्थानीयवासीसँग हारगुहार गरेका छन् । तर उनले यो हारगुहार कुनै
निजि कामका लागि भने गरेका होइनन् । नेपालकै पुरानो मध्येको एक भक्तपुर अस्पताल जोगाउन गेलालले यस्तो गरेका हुन् । जिल्लामा आयोजित एक सार्वजनिक कार्यक्रमको मञ्च बाटै उनले भने “भक्तपुर अस्पताल अस्पताल जस्तै छैन, यसले राम्रो सेवा नदिँदा भक्तपुरका बासिन्दाको विश्वास जित्न सकेन, त्यसैले भक्तपुरका बासिन्दा उपचार गर्न नाकै अगाडिको अस्पताल छाडेर काठमाडौँ जान्छन्, यो अस्पताल भक्तपुरका बासिन्दाको हो, यसलाई जोगाउन, यसको सेवा सुधार गर्न अब भक्तपुरका बासिन्दा अग्रसर हुनुहोस् ।” अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहनुभएका गेलालले आफू अध्यक्ष हुँदा धेरै धाएर मन्त्रालयबाट सघन उपचार कक्ष सञ्चालनका लागि रु डेढ करोडको बजेट ल्याए पनि अहिलेसम्म सञ्चालनमा नआएको बरु प्राविधिक सामान र यन्त्र थन्किएकामा दुःख व्यक्त गरेका छन् । सघन उपचार कक्ष नभएकै कारण कैयौं बिरामी निजी अस्पतालमा उपचारका लागि जाने गरेको र प्रसूति सेवासमेत अहिले लथालिङ्ग भएको उनको भनाई छ । वीर अस्पतालपछिको पुरानो अस्पतालका रुपमा रहेको सो अस्पतालमा हाल ७५ शय्या छन् । तीन शय्याको सघन उपचार सेवा सञ्चालनका लागि आवश्यक ठाउँ र सामग्री तयारी अवस्थामा छ । भक्तपुर अस्पताल प्रशासन भने सघन उपचार सञ्चालनका लागि आवश्यक जनशक्ति अभावका कारण सेवा शुरु गर्न नसकेको भन्दै पन्छिँदै आएको छ । अस्पतालको यहि विषयमा छलफल गर्न आज बुधबार गेलालले भेला समेत बोलाएका छन् ।