काठमाडौँको जमल क्षेत्र वर्षायाममा डुबान

4

काठमाडौँ : काठमाडौँको जमल क्षेत्र वर्षायाममा डुबान हुने कारणलाई प्राविधिक प्रतिवेदनले पूर्वाधारको असन्तुलित क्षमतालाई देखाएको छ।
प्राविधिक विश्लेषण अनुसार वर्षा याममा, जमल क्षेत्रमा विभिन्न चार दिशाबाट वर्षा हुँदा सतहमा जम्मा हुने पानी र ढलको पानी जम्मा हुने गर्दछ। ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर डायमिटरका पाइपहरू मार्फत पानी जमल चोकमा पुग्छ। यसरी भित्रिने पानीको कुल प्रवाह क्षेत्रफल (टोटल इन फ्लो एरिया) ०.८२६ वर्गमिटर (करिब १२० सेन्टिमिटर डायमिटरको पाइपबाट एकत्रित हुने पानी) देखिएको छ। तर यी सबैतिरबाट संकलन भएको पानीलाई बाहिर निकाल्नका लागि राखिएको ढल ६० सेन्टिमिटर डायमिटरको मात्र छ। यसको निकास क्षमता (टोटल आउट फ्लो एरिया) ०.२८३ वर्गमिटर मात्र छ। यसरी भित्र पस्ने ढलको तुलनामा निकासको बाटो अत्यन्त साँघुरो भएकाले पानी सडकमा भरिने र डुबान हुने गरेको हो। यससँगै निकासको अन्तिम विन्दु र टुकुचा खोलाको पानीको सतहबीचको उचाइ (लेभल डिफरेन्स)मा निकै कम अन्तर रहेकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलको पाइपभित्र पसेर अवरोध सिर्जना गर्ने गरेको समेत प्रतिवेदनले औँल्याएको छ। यसअघि माइतीघर मण्डला क्षेत्रमा देखिएको समस्या जस्तै जमल क्षेत्रमा पनि ‘बोटल नेक’ समस्या अर्थात् क्षमताको असन्तुलनका रूपमा हेर्न सकिन्छ। जसका कारण थोरै वर्षा हुँदा पनि जमल क्षेत्र जलमग्न हुने गरेको छ।

पानी परेपछि जमल नियमित डुबानमा पर्न थालेपछि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्तिपथमा पानीको निकाससँग सम्बन्धित विकास साझेदार आफू आफूले गरेका काम, आफू सम्बन्धित संरचनाका विषयमा सूचना लिने दिने र डुबानको प्राविधिक कारण पत्ता लगाएर समाधान निकायगत अधिकारीसहित तत्काल प्राविधिक अध्ययन गर्न र प्रतिवेदन पेश निर्देशन दिएकी थिइन्। त्यसपछि महानगरपालिकाको विपद व्यवस्थापन विभागको संयोजनमा साझेदार कार्यालयका अधिकारीहरू स्थलगत अध्ययनका लागि जमल पुगेका थिए। स्थलगत अध्ययनपछि राष्ट्रिय विपद जोखिन न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी को संयोजकत्व गठित प्राविधिक समितिले प्रतिवेदन तयार पारेको हो। समितिमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपाली र डिभिजन सडक कार्यालय काठमाडौँको इञ्जिनियर श्रीयंका रौनियार छन्। उनीहरुले स्थलगत अवलोकन र सरोकारवालासँगको छलफलका आधारमा प्रतिवेदन तयार पारेका हुन्।

डुबान समाधानका लागि समितिले तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका योजनाहरू सिफारिस गरेको छ। तत्कालका लागि जमलदेखि केशरमहलसम्म क्याचपिटको संख्या थप गर्नुपर्ने, सडक विभाग र महानगरपालिकाले समन्वय गरी ढलका पाइप, म्यानहोल र क्याचपिटहरूमा थुप्रिएका बालुवा, लेदो, गेग्रान र फोहरलाई नियमित सफा गरेर क्षमता थप खुम्चिनबाट बचाउने, टुकुचा खोला पिँधको सतहलाई सफा गरी बहाव सहज बनाउनुपर्ने सुझावमा उल्लेख छ। त्यसैगरी मध्यकालीन उपायका रूपमा हाल कायम रहेको ६० सेन्टिमिटरको सानो निकास पाइपलाई विस्थापित गरी ठूलो क्षमताको ‘ट्रंक लाइन’ निर्माण गर्नुपर्ने र जमलको मुख्य चोकमा पानीको चाप कम गर्न डाइभर्सन प्रणाली मार्फत पानीको केही हिस्सा कम गर्न सकिने उल्लेख छ।जनप्रशासन क्याम्पस, उडल्याण्ड होटल हुँदै महेन्द्रको शालिकसम्मको पुरानो ढल प्रणाली सुचारु गर्ने सम्बन्धमा अध्ययन गरिने पर्ने, वर्षातको पानीको भार कम गर्न त्रिचन्द्र बहुमुखी क्याम्पससहित त्यस क्षेत्रमा भएका होटल, सपिङ मल, स्कुल र निजी स्वामित्वका जमिनमा पानी पुनर्भरण प्रणाली सञ्चालन गर्नु पर्ने प्रतिवेदनको सुझाव छ।