Tuesday, September 29, 2026
Home समाज एक बोर्डिङ स्कुलको होस्टलमा शिक्षिकाको शव फेला

एक बोर्डिङ स्कुलको होस्टलमा शिक्षिकाको शव फेला

6

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् र श्रीमान श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। शवको परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको र सम्पर्कविहीन रहेका उनका श्रीमान्को पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।