काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दै छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो। राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ। प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ।














