राष्ट्रिय परिचयपत्र र नागरिकता प्रणालीबीच अन्तरआबद्धता शुरु

5

काठमाडौँ : सरकारले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतवार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। योसँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फाराम भर्नुपर्ने नपर्ने भएको छ। गृहमन्त्री अर्यालले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीले हालसम्म विवरण दर्ता आवेदन फारम भरी जैविक (बायोमेट्रिक) विवरण दिनका लागि तोकिएका राष्ट्रिय परिचयपत्र एकाइमा उपस्थित हुनुपर्ने बाध्यता हट्न गई सेवाग्राहीको समय र आर्थिक लागत समेत बचत हुने बताए। उनले भने, ‘राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीले राष्ट्रिय परिचयपत्र एकाइ रहेका स्थानमा बायोमेट्रिक दिन जाने गरेको अवस्थाले नागरिकले खर्च गर्नुपरेको समय र लागतलाई न्यूनीकरण गर्ने मूल उद्देश्य रहेको छ।’