काठमाडौं : काठमाडौँ महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणाका लागि तयारी, घोषणापछिका संस्थागत तथा सामाजिक व्यवस्थाका विषयमा छलफल भएको छ। मंगलबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा मानव सेवा आश्रमका अधिकारीबीच छलफल भएको हो। छलफलमा कार्यवाहक प्रमुख डंगोलले घोषणा गर्नुअघिको अवस्था र घोषणा पश्चात् गर्नुपर्ने कामका विषयमा कुरा गर्दै लक्ष्यमा पुग्ने यात्रा सकारात्मक भएको उल्लेख गरिन्। उनले भनिन्,‘घोषणा गर्न सजिलो हुन सक्छ तर उपलब्धि यथास्थानमा राख्न धेरै चुनौती हुन्छन्, ती चुनौतीको सामना गर्ने प्रणाली, तत्परता तयार गर्नु मुख्य काम हो, तयारी थाल्दा घोषणा गर्ने मात्र नभई त्यसलाई दिगो बनाउने कानुनी, प्रशासनिक तथा व्यावहारिक पक्ष सक्रिय बनाउने, समन्वय र सहजीकरणको कुरा सुनिश्चित गर्नुपर्छ।’छलफलमा सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौलाले अहिलेको उपलब्धि जोगाउने गरी कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिइन्। यस्तै महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले सडकमा आश्रित सहयोगापेक्षीहरूलाई उद्धार गरेर आश्रममा लैजाने क्रम अहिले पनि जारी रहेको उल्लेख गरे। महानगरपालिकाले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक आश्रित मानव व्यवस्थापनको काम सुरु गरेको हो। आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार अहिलेसम्म महानगरपालिका भित्रबाट २ हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भएको छ।












