काठमाडौैं । गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको सीसीटीभी फुटेजअनुसार सुवेदीलाई उनको घरमै पुगेर कुटपिट गरिएको हो । मादक पदार्थले मातेका गौरादह नगरपालिका(५ राजपति चोक, चप्रामारी निवासी ३४ वर्षीय भीष्म सिटौलाले सुवेदीलाई उनकै घरमै गालीगलौजसहित कुटपिट गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।
मेयर सुवेदीलाई कुटपिटमा संलग्न भएका सिटौलालाई प्रहरी चौकी महारानीझोडाको टोलीले पक्राउ गरेर हिरासतमा लिएको छ। सिटौला जापानबाट निर्वाचनअघि घर फर्किएको खुलेको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ।
सिटौला घरमै आएर विवाद गर्न थालेपछि हातपातमा उत्रिएको मेयर सुवेदीले सञ्चारकर्मीलाई बताएका छन् । आफूसँग राम्रोसँग चिनजान नै नभएका सिटौलाले आफूलाई कुटपिट गर्नुको कारण थाहा पाउन नसकेको सुवेदीले बताए ।













