काठमाडौँ : सरकारले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ। विभिन्न कामको सन्दर्भमा इरान पुगेका १२ नेपालीमध्ये दुई नेपाल आइसकेको र दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आठ नेपाली अझै इरानमै छन्। उनीहरू सबै जना सुरक्षित छन्। उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको उनले बताए। मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै मन्त्रालयले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरेको बताए । सतर्क रहने, सकेसम्म घरभित्रै बस्ने, आवश्यक सावधानी अपनाउने र आ-आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको पनि मन्त्रालयले जनाएको छ।














