दुम्लिङबासीको सर्त- जसले पुल बनाइदिन्छ, उसैलाई भोट

5

दार्चुला । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको चहलपहल दार्चुलामा निकै बढेको छ । उम्मेदवारहरू विभिन्न आश्वासन बाँड्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । चुनावमा आश्वासन बाँड्ने र पाँच वर्ष गाउँ नफर्कने नेताहरूलाई यस पटक दार्चुला ब्याँस गाउँपालिका-२ का दुम्लिङका स्थानीय बासिन्दाले भोटका लागि महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरिदिनुपर्ने सर्त राखेका छन् । ‘नेपाल-भारत जोड्ने महाकाली नदीमाथि जसले झोलुङ्गे पुल बनाइदिने ग्यारेन्टी गर्छ उसैलाई भोट दिन्छौं,’ उनीहरूले भनेका छन् ।झोलुङ्गे पुल नहुँदा यस क्षेत्रका नागरिक तुइनबाट खोला-नदी तर्न बाध्य छन् । तुइन चुँडिएर हरेक वर्ष कतिले अकालमै ज्यानसमेत गुमाउने गरेका छन् । स्थानीय रघुसिंह बुढाथोकीका अनुसार तुइनबाट खसेर हालसम्म ३२ जनाले अकालमै ज्यान गुमाएका छन् । दैनिक रासन, नुन, तेल ल्याउन पारि (भारत) जानुपर्छ । झोलुङ्गे पुल भइदिएको भए स्थानीयले ज्यान गुमाउने थिएनन् ।