नेता घरघरमा भोट माग्दै, मतदाता सडकमै अन्तिम सास फेर्दै

6

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन आउन अब १० दिन मात्रै बाँकी छ। फागुन २१ मा हुने निर्वाचका लागि पार्टी तथा स्वतन्त्रउम्मेदवार जनताको घरघर चहारिरहेका छन्। मीठा आश्वासन दिएर मत मागिरहेका छन्। यता असुरक्षित सडकका कारण मतदाता भने सडकमै ज्यान गुमाइरहेका छन्। पछिल्लो समय तीन साता नबित्दै तीन ठूला सडक दुर्घटना भएका छन्। दुर्घटनामा ठूलो धनजनको क्षति भएका छन्। बस सडक दुर्घटनामा मात्रै १९ दिनको अवधिमा ४४ जनाको ज्यान गुमाए। तर यसतर्फ न सरकारले चासो दिएको छ न त आश्वासन बाँड्दै हिडिरहेका नेता-उम्मेदवारले नै यो विषयमा बोलेका छन्। धादिङमा गएराति यात्रुबाहक बस दुर्घटनामा हुँदा १९ जनाले अकालमै ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रकाश दाहालका अनुसार २५ जना घाइतेहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गए राति एक बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो। हालसम्म मृतकमध्ये ९ जनाको मात्रै सनाखत भएको छ। दुर्घटना कारणबारे भने अझै खुलेको छैन।