ओशोले यौनलाई मानव जीवनको मूलभूत ऊर्जाको रूपमा परिभाषित गरेका छन् । उनको विचारमा, यौन केवल शारीरिक सुख वा प्रजननको साधन मात्र होइन, यो जीवन शक्तिको अभिव्यक्ति हो, जसले मानवलाई सृष्टिको आधारसँग जोड्छ । उनले भनेका छन्, ‘यौन ऊर्जा नै जीवनको स्रोत हो। यो सृष्टिको प्रारम्भिक बिन्दु हो, जसबाट जीवनको सम्पूर्ण सृष्टि उत्पन्न हुन्छ।’ यो ऊर्जा मानव शरीर र मनको मूलमा रहेको छ, र यसलाई दबाउनु वा नकार्नु भनेको जीवनकै एक हिस्सालाई अस्वीकार गर्नु हो। ओशोले यौनलाई प्रकृतिको उपहारका रूपमा हेरेका छन्। उनको दर्शनमा, यौन न त पाप हो न त अपवित्र, बरु यो मानवको स्वाभाविक प्रवृत्ति हो। उनले पश्चिमी र पूर्वीय समाजमा यौनलाई लिएर रहेको नकारात्मक धारणा र दमनको आलोचना गरे ।













