काठमाडौं । शुक्रबारदेखि ३ नयाँ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली फिल्म ‘कुमारी’ र ‘रम्मिताको पिरती’ तथा हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स ः च्याप्टर ३’ प्रदर्शन हुनेछन् । हलले चर्चा, सोसल मिडिया प्रभाव र स्टार कास्ट लगायतका सूचक हेर्दै शोज विभाजन गरेका छन् । प्रदर्शन हुन लागेकामध्ये सबैभन्दा धेरै शोज ‘कुमारी’ ले पाएको छ, जसको शोज संख्या १५२ छ ।दिनेश राउत निर्देशित रोमान्टिक फिल्म ‘कुमारी’ अहिलेको प्रतीक्षित फिल्म हो । संगीतको कारण यो फिल्मले अहिले दर्शकमाझ चर्चा बटुलिरहेको छ । सामाजिक संजालमा पनि यसको चर्चा ब्यापक देखिन्छ । आकृति राजभण्डारी र अभिषेक खड्का स्टारर फिल्मको रनटाइम १२७ मिनेट र सर्टिफिकेट युनिभर्सल छ । जेनजी पुस्ताका दुई कलाकारलाई डेब्यू गराएर निर्देशक राउतले दर्शकमाझ नयाँ अनुहारलार्ई प्रस्तुत गरेका छन् । युवापुस्ताका चर्चित गायक केहरसिंह लिम्बुको गायनले यो फिल्मलाई अझै बलियो तुल्याएको छ ।













