Saturday, October 17, 2026
Home समाज जाजरकोटमा साथीको हत्या आरोपमा तीन जना पक्राउ

जाजरकोटमा साथीको हत्या आरोपमा तीन जना पक्राउ

11

जाजरकोट : सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले हत्यामा संलग्न भएको आरोपमा विष्टका तीन जना साथीलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका तीननै जनालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनको भनाइ छ। हत्यामा संलग्न भएको आरोप लागेका १४, १५ र १६ वर्षका बालक रहेकाले उनीहरूको नाम खुलाइएको छैन। शुक्रबारदेखि हराइरहेका विष्टका आफन्तले शनिबार जाहेरी गरेपछि प्रहरीले खोजी गर्दा गाउँकै जङ्गलमा शव फेला परेको थियो। उनीहरू श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन शुक्रबार गाउँमै रहेको पाथीभारा मन्दिरमा दर्शन गर्न गएका बेला झगडा गरेको र सोही ठाउँ हत्या गरिएको अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।