एजेन्सी । बंगलादेशमा भीडले कुटपिट गरेर अर्का हिन्दु अल्पसंख्यकको हत्या गरेको छ। राजबारी जिल्लामा डिसेम्बर २४ को राति करिब ११ बजे सम्राट भनिने २९ वर्षीय अमृत मण्डललाई फिरौती मागेको आरोपमा भीडले हत्या गरेको द वायरले लेखेको छ। गत हप्ता मात्रै २७ वर्षीय दिपु चन्द्र दासलाई पनि भीडले हत्या गरेको थियो।
अन्तरिम सरकारले भने पछिल्लो घटना आपराधिक प्रकृतिको भएको र साम्प्रदायिक नभएको दाबी गरेको छ।स्थानीय मिडियाले पनि उनी एक सहयोगीका साथ फिरौती उठाउन गएका बेलामा स्थानीयले कुटपिट गरेको समाचार लेखेका छन्। प्रहरीले घटनास्थलबाट मण्डलका सहयोगी मोहम्मद सलिमलाई पक्राउ गरेको छ। उनीबाट एउटा पेस्तोल र एउटा पाइप गनसहित दुई वटा हतियार बरामद गरेको छ। सरकारका अनुसार मण्डल विरूद्ध पांशा प्रहरी चौकीमा हत्या लगायत कम्तीमा दुई वटा मुद्दा दर्ता थिए। सन् २०२३ मा दर्ता भएका फिरौतीका धेरै घटनाहरूमा पनि उनी आरोपी थिए।













