रिलायन्सको आईपीओमा १ करोड ६३ लाख कित्ताको आवेदन

8

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको अभूतपूर्व विश्वास देखिएको छ । आम–सर्वसाधारण समूहतर्फ आईपीओ खुलेको तेस्रो दिनमै १८ गुणा बढी आवेदन परेको छ ।

सिडिएससीद्वारा प्रकाशित विवरण अनुसार बुधबारसम्म ३ लाख १४ हजार ४६४ आवेदकबाट १ करोड ६२ लाख ९३ हजार ४६० कित्ताको लागि आवेदन परेको छ । आवेदकबाट १३ अर्ब ३७ करोड ३६ लाख ७१ हजार ९६८ रुपैयाँ जम्मा भएको छ । आम–सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरिएको छ ।

सोमबार आईपीओ निष्काशन भएको ४० मिनेटमै ‘ओभर सब्सक्राइब’ भएको थियो । रिलायन्सको आईपीओमा आवेदन दिने लगानीकर्ताको उत्साहपूर्ण लहर बुधबार पनि जारी रह्यो । कम्पनीद्वारा निष्काशित आईपीओको सबैभन्दा ठूलो हिस्सा (आम–सर्वसाधारणतर्फ) को आवेदन अवधि पुस ७ देखि ११ सम्म तोकिएको छ । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा पुस २१ सम्म अवधि लम्बिने भए पनि पहिलो दिनमै ‘ओभर सब्सक्राइभ’ भएपछि अवधि थप हुने संभावना छैन । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यसअघि वैदेशिक रोजगारी र म्युचुअल फण्डतर्फ १७ गुणा बढी आवेदन परेको थियो । यसले तीन दशक लामो इतिहास बोकेको रिलायन्स स्पिनिङ मिल्सको शेयरधनी हुन लगानीकर्ताहरु निकै लालायित र उत्साही रहेको देखाउँछ । रिलायन्स स्पिनिङ मिल्सले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ । सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ । वैदेशिक रोजगारी र म्युचुअल फण्ड दुबैतर्फ मागभन्दा १७ गुणा बढी आवेदन परेर शेयर बाँडफाँट भइसकेको छ । आम–सर्वसाधारणतर्फ पनि बुधबार तेस्रो दिनसम्म १८ गुणा बढी आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको छ ।