भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले १७ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । भक्तपुर जिल्लाको विभिन्न स्थानमा जुवा तास खेलिरहेको छ भन्ने सूचनाको आधारमा १७ जना मानिसहरुलाई नियन्त्रणमा लिइएको परिसरका सूचना अधिकारी डिएसपी प्रकाश जबेगुले नयाँ नेपाल न्युजडटकमलाई जानकारी दिएका छन् ।
भक्तपुर नगरपालिका वडा नं. ८ मालपोत कार्यालय नजिकै पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा ७ जना मानिसहरुलाई नियन्त्रणमा लिएको हो ।
उनिहरुको साथबाट ६ बुक तास र त्रिहत्तर हजार सात सय पच्चिस रुपैंया समेत खेलिरहेको स्थानबाट बरामद गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवीबाट पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा १० जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । यहाँबाट ३ बुक तास र एक लाख बाउन्न हजार चार सय रुपैया समेत खेलिरहेको स्थानबाट बरामद गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी जबेगु बताए ।














