गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान

17

काठमाडौं । नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान चयन भएका छन् । ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले अब ६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्नेछन् । नेतृत्वमा उनको चयनलाई गोल्यान ग्रुपभित्र नयाँ युगको पदचाप र परिवर्तनको चाहना प्रतिविम्बित भएको विश्लेषण गरिएको छ ।

ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो वार्षिक उत्सवको अवसरमा यस्तो घोषणा गरिएको जनाएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष बासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए।

‘अक्षय गोल्यान अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ, कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्यान ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ,’ ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैले भनिन् ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको ईएसएडी यूनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका छन् । अध्ययन पश्चात ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उनले ग्रुप अन्तर्गतका अन्य कम्पनीहरुलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिरहेका विज्ञप्तिमा उल्लेख छ ।
गोल्यान ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । ६ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् । ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको ग्रुपको वार्षिक कारोबारमात्र ४ सय मिलियन अमेरिकी डलर (५६ अर्ब नेपाली रूपैयाँ)भन्दा बढी रहेको छ ।