काठमाडौं । गोवाको नाइटक्लब आगलागी घटनामा संलग्न दुई दाजुभाइलाई थाइल्यान्डमा पक्राउ गरिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। सो घटनामा पाँच जना नेपालीको समेत ज्यान गएको थियो । सौरभ र गौरव लुथरा नामका दाजुभाइ आगो लागेको नाइटक्लबका सञ्चालक हुन्। उनीहरू घटनालगत्तै गोवाबाट फरार भएर थाइल्यान्ड पुगेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
उनीहरूलाई भारत फर्काउने प्रक्रिया सुरू भइसकेको समाचारमा उल्लेख छ। गोवाको बर्च बाइ रोमियो लेन नामक नाइटक्लबमा आइतबार भएको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए। त्यसमा पाँच जना नेपालीसमेत परेको नयाँ दिल्लीस्थित भारतीय दूतावासले पुष्टि गरिसकेको छ। ती पाँचमध्ये चार जनाको शव मंगलबार र बुधबार गरेर नेपाल फर्काइएको र एक जनाको शव भारतकै हरिद्वारमा अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार गोवा आगलागीमा ज्यान गुमाउने नेपालीहरूमा सिन्धुलीका लीलबहादुर कटवाल, झापाका सविन विश्वकर्मा, दाङका चूर्णबहादुर पुन, डडेल्धुराका मनोज झोरा र टिकाराम विक छन्।














