सुर्खेत — गत भदाै २४ मा आगजनी र तोडफोडबाट भवन ध्वस्त भएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो । त्यसयता संसद बैठक बस्न सकेको छैन ।भदौ २४ मा प्रदर्शनकारीबाट आगजनी भएपछि कर्णाली प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुई वटा विषयगत समितिका भवन पूर्णरुपमा ध्वस्त भएका थिए । जसका कारण सरकारले संसद अधिवेशन आव्हान गर्न नसकेको प्रदेशसभा सचिवालयले जनाएकाे छ । आगलागीपछि कर्णाली प्रदेशसभामा दैनिक प्रशासनिक काम र संसदीय समितिको बैठक मात्र भइरहेको छ । आगजनीका कारण अधिकांश कार्यकक्ष, कागजात, फर्निचर, कम्प्युटर, विद्युतीय उपकरणलगायत सामग्री नष्ट भएपछि संसद अधिवेशनका अन्योलमा परेको प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्रबहादुर कार्कीले बताए ।














