भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, कसैको धम्कीले डराउँदैनौं : प्रधानमन्त्री

40

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताएकी छिन्।भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुशासनको अभियानमा कसैको धम्कीसँग नडराउने बताइन्। ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।’ उनले भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’साथै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न उनले आग्रह पनि गरिन्।