गण्डकी : शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ। पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन्। पर्यटनसम्बद्ध संघसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ।
पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ। विभिन्न संघ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्। कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ। ‘पोखरा सबै मौसमका लागि’ नाराका साथ कृषिलाई पर्यटनसँग जोड्न परिषद्ले २०६१ सालदेखि बर्सेनि असार १५ गते पोखरा आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव गर्दै आएको थियो। परिषद्ले गर्दै आएको महोत्सवकै कारण त्यसको सिको गर्दै पोखरा आसपासका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय सरकार, स्थानीयवासीको सक्रियतामा रोपाइँ महोत्सव गरिँदै आएको छ।
यस वर्ष पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो दाइँ महोत्सव सम्पन्न गरेको परिषद्का प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिए। पोखराको सेती नदीको किनारस्थित ढुङ्गे साँघुमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेला नेपालकै प्राचीन मेला मध्येमा पर्दछ। भगवान रामसीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि लाग्दै आएको विश्वास गरिएको छ। ऐतिहासिक दस्तावेजअनुसार यो मेला १९६४ सालदेखि लाग्दै आएको पाइन्छ स्थानीय उत्पादन ठूलो मात्रामा बिक्री वितरण हुने यस मेलामा कास्की जिल्ला मात्र नभै आसपासका जिल्लाबाट सरसमान किनमेल गर्न र मेला हेर्न सर्वसाधारण आउने गरेका छन्। ढुङ्गेसाँघुको मेला हेर्न माघे संक्रान्तिका दिनमा भगवान शिव, ब्रह्मा, विष्णुलगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ। भगवान् राम र सीता आफ्नो जीवनकालमा यहाँस्थित सीताघाटमा आएको विश्वासले पनि यहाँको धार्मिक महत्व अझै चुलिएको पाइन्छ।












