खोटाङ : पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषक चिन्तित भएका छन्। तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका १० वटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषक चिन्तित भएका हुन्। पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरू भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताए। ‘मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ। पाक्न लागेको अवस्थामा सबै ढलेर सोत्तर भएको छ’, उनले भने, ‘प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोत्तर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ। यसप्रति सरकारले ध्यान दिन जरुरी छ।’
कृषकले लगाएको धानबाली पाकेर पहेँलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए। ‘यो वर्ष रोपाइँ गर्नका लागि समयमा वर्षा भएको थियो। समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनमान गरिएको थियो। तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको छ’, उनले भने, ‘क्षतिको विवरण जुटाउने काम भइरहेको छ। अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन।’दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ हजार ९८८.०३ हेक्टर जमिनमा धानखेती हुन्छ। विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको थियो। तर, पाकेर थन्क्याउन लागिएको अवस्थामा लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको बताइएको छ।












