काठमाडौं । भाइटीकाको दिन भोली बिहीबारदेखि प्रदर्शन हुन लागेका दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’को अग्रिम टिकट बिक्री सुरू भएको छ । दशैंदेखिका नेपाली र विदेशी फिल्महरू हलमा अझै प्रदर्शन भइरहेकाले भाइटीकाका दुई फिल्मले अपेक्षित शो भने पाउन सकेका छैनन् । मंगलबार साँझ ८ बजेसम्म दुई फिल्मले देशव्यापी कुल १२३ शो प्राप्त गरेको खल्ती एपमा देखिन्छ ।
शो संख्यामा ‘वरिष्ठ बलराम’ अगाडि देखिएको छ । यसले देशव्यापी ७३ शो पाएको छ भने ५० शो ‘सोल्टिनी’को छ । अझै केही हलहरूले शो खुलाउन बाँकी रहेकाले बुधबार साँझ मात्र शोको अन्तिम तालिका आउनेछ । अब यी दुई फिल्मका लागि सबैभन्दा ठूलो चुनौती भनेको दर्शकको उपस्थिति कायम राख्दै प्राप्त शोहरू जोगाइराख्नु हो ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मले दुई पात्रबीचको अस्तित्वको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।
‘सोल्टिनी’ भने अन्तरजातीय प्रेमकथामा आधारित छ । अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, सुन्दर धिताल लगायतको अभिनय रहेको छ । रेजिना बिस्ट र संसार चौलागाईँ फिल्मका निर्माता हुन् । यसमा अर्जुन सुवेदी र कुमार भट्टराईको कथा तथा पटकथा लेखन छ ।













