हेटौडा : हेटौँडा उपमहानगरपालिका–८ कमानेबाट एक बालक बेपत्ता भएका छन्। मकवानपुरगढी गाउँपालिका–७ कुसौरा घर भई हाल हेटौँडा उपमहानगरपालिका–८ कमानेमा कोठा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले बिहीबार बिहानबाट सम्पर्कविहीन भएका हुन्। गहुँगोरो वर्ण, अन्दाजी ४ फिट उचाइ र पातलो शरीर हुलिया भएका बालक बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। छोरा हराएपछि उनका बाबु विशाल गोलेले प्रहरीमा खोजतलासका लागि पुगेका छन्। पारिवारिक स्रोतका अनुसार बालक सुस्त मनस्थितिका रहेका थिए। घरबाट आफ्नो बुबासँग कापी च्यातेको विषयमा सामान्य विवाद भई निस्केर हिँडेको, आफ्नो आफन्त नाता गोता कोही कसैकोमा नपुगेको र घरमा फर्की नआएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।














