विराटनगर । केही दिन अगाडिको आन्दोलनले गर्दा असहज भएको विराटनगरको मुख्य सडकलाई सहज बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन लम्साल सक्रिय भएका छन् । ट्राफिक प्रमुख लम्साल आफैँ सडकमा खटेर सवारी आवागमन सहज बनाउन नेतृत्वदायी भूमिकामा देखिएका हुन् ।
ट्राफिक प्रहरीको टोलीले विराटनगरको व्यस्त मानिने भाटभटेनी अगाडिको सडक खण्डमा तेर्साइएका डिभाइडर र अवरोधहरू पन्छाएर सहजीकरण गरेको हो । मोरङका ट्राफिक प्रमुख लम्सालले भने, “सडक अवरुद्ध हुँदा आम नागरिकले दुःख पाईरहनु भएको थियो, यसैले हामी अवरोध पन्छाउदै छौँ ।”
हाम्रो जिम्मेवारी भनेको सवारी आवगमनलाई सहज बनाउनु हो । त्यसैले हामीले तत्काल अवरोध हटाएर यातायात खुलाएको लम्सालले बताए । केहि दिन यताको स्थितिलाई सामान्यीकरण गर्न र यातायातलाई पुनः सुचारु गर्न प्रहरी निरीक्षक लम्साल र अन्य ट्राफिक कर्मचारीहरु सक्रिय खटिएका हुन् ।
प्रहरीको सक्रियतापछि विराटनगर बसपार्कबाट चल्ने विशेषगरी साना दूरीका सवारी साधनहरू पुनः सञ्चालनमा आएका छन् । लम्सालका अनुसार अन्य स्थानमा रहेका अवरोधहरू पनि हटाएर शहरको समग्र ट्राफिक व्यवस्थापनलाई सामान्य अवस्थामा फर्काइएको छ ।
जेनजी पुस्ताकोआन्दोलनका क्रममा विराटनगरका विभिन्न सडकमा राखिएका डिभाइडर र अन्य अवरोधहरू गर्दा सर्वसाधारणलाई सास्ती भएपछि ट्राफिक प्रहरीले यस्तो कार्य गरेको ट्राफिक प्रमुख लम्सालले बताए ।












