एजेन्सी । मक्सिकोको माथिल्लो संसद सिनेट बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ। मेक्सिकोमा सम्भावित अमेरिकी सैन्य हस्तक्षेपबारे सांसदहरूबीच चर्को बहस चलिरहँदा स्थिति तनावपूर्ण बन्दै जाँदा हात हालाहालसम्म पुगेको हो। घटना बुधबारको हो।
संसदमा बोल्न नदिइएको भन्दै एक जना सिनेटरले आक्रोश व्यक्त गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। राष्ट्रिय गान बजिरहेको बेला विपक्षी दल पीआरआईका अध्यक्षसमेत रहेका सिनेटर अलेजान्द्रो मोरेनो पोडियममा पुगेर सिनेट अध्यक्ष जेरार्डो फर्नान्ड नोरोनासँग सबालजबाफ गरेका थिए।
प्रत्यक्ष प्रसारण भएको भिडिओमा मोरेनोले सिनेट अध्यक्ष नोरोनालाई औंला ठड्याउँदै केही विषयमा आपत्ति जनाएकोजस्तो देखिन्छ।
उनको गुनासोको बेवास्ता गर्दै सिनेट अध्यक्ष नोरोना बाहिरिन खोजेपछि मोरेनोले उनलाई आफूतिर तान्न खोजेका थिए। त्यसपछि सिनेट अध्यक्ष नोरोनाले उनलाई धकेलेका थिए। नोरोनाले धकेलेपछि मोरेनो पनि प्रतिकारमा उत्रिए। दुवैजनाबीच धकेलाधकेल सुरू भयो। पोडियम नजिक रहेका अरू सांसदहरू पनि त्यहाँ आए।














