२० रुपैंयाँको चुरोट ५ सय जरिवना !

14

काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक सार्वजनिक स्थानमा तपाई धुम्रपान गर्नेलाई जरिवाना तिराउने छ। तपाईंले किनेको २० रूपैयाँ खिल्लीको चुरोटले ५०० रूपैयाँ जरिवाना तिराउन सक्छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले भदौ १ गतेदेखि सार्वजनिक स्थानमा अनुगमन गर्दै त्यसरी धुम्रपान गर्नेलाई यतिखेर धमाधम जरिवाना तिराएको छ।

काठमाडौं महानगरपालिकाले असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गर्ने व्यवस्था गरेको छ। महानगरपालिकाका अनुसार साउन ९ गतेदेखि झण्डै एक महिनासम्म सार्वजनिक स्थानहरूबाटै यसबारे प्रचारप्रसार गरियो। भदौ १ गतेबाट भने कारबाही प्रक्रिया सुरू गरिएको हो। महानगरपालिकाले ऐन पारित गर्दै सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइएमा पहिलोपटक ५ सय रूपैयाँ र दोहोर्‍याएर उल्लंघन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था गरेको छ।

महानगरपालिकाले यसअघि पनि पटक-पटक सूचना प्रकाशित गर्दै सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्ती सेवन नगर्न जानकारी दिएको थियो। तर,अटेर गरेपछि महानगरपालिकाले जरिवाना तिराउन सुरू गरेको हो। सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ मा कसैले पनि सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाइने व्यवस्था छ। कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बमोजिमको जरिवाना गराउने कानुनी व्यवस्था छ। काठमाडौं महानगरपालिका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले भदौ १ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धुम्रपान गर्ने ६२ जनालाई कारबाही गरिएको जानकारी दिए।