‘हरिबहादुरको जुत्ता’को टिजर हुर्नेहोस्

20

काठमाडौं । यसपालिको दशैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरमा फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य हाबी देखिएका छन् । उनलाई टेलिभिजनको चर्चित पात्र हरिबहादुरको भूमिकामा देख्न सकिन्छ । चोरीको आरोपमा जेल जीवन भोगेपछि हरिबहादुरले समाजमा पुनर्स्थापित हुन गरेको संघर्षलाई टिजरले हास्य शैलीमा प्रस्तुत गरेको छ । यसमा हरिबहादुर पात्रलाई सिरियलभन्दा फरक आयाममा उतारिएको छ । टेलिभिजनमा चतुर चोर र ठगको रूपमा चिनिएको हरिबहादुर, फिल्ममा भने जीवनका पीडा, संवेदना र समाजसँग जुधिरहेको देखिन्छ ।

टिजरमा हरिवंशसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपूत, दिव्य देव, हरिहर शर्मा, कमलमणि नेपाल, निर्मल शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले लगायतका कलाकारहरूको अभिनय समेटिएको छ । टिजरले फिल्मको कथामा राजनीति पनि महत्त्वपूर्ण पाटो हुने संकेत गरेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो फिल्मलाई दीपेन्द्र के। खनालले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको लेखन रहेको फिल्ममा सरोज ओली र मोहितवंश आचार्य निर्मातामा छन् । फिल्ममा कृष्ण बहादुर थापा छायाँकार, नकुल खड्का सम्पादक, राज कुमार उप्रेती द्वन्द्व निर्देशक तथा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूत संगीतकारको रूपमा रहेका छन् ।