काठमाडौँ : नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरूलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटो भएको बताएका छन्। मंगलवार सिंहदरबारमा दुवै राजनीतिक दलले आफ्ना सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएका छन्। कारणबारे सबैले उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गराउने अनुमान गरे पनि दुवै राजनीतिक दलले यसको खण्डन गरेका छन्।
नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउन सक्ने र कुनै पनि बेला काम लागेको समयमा प्रयोग गर्नसक्ने बताए।
उनले उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उनीमाथि हटाउन प्रस्ताव पेश हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको भए पनि त्यो सही नभएको बताए। नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखले पदीय मर्यादा विपरित केही मानिसलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गरेको कुरा संसदमा उठेको भए पनि अहिले सांसदहरूको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको बताए। उनले सत्तारुढ दल उपसभामुखमाथि महाअभियोग लगाउने निर्णयमा पुगिनसकेको बताए। यद्यपि उनीमाथिको आरोप राफसाफ गर्नुपर्ने बताए।














