खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा ३ छोरम्बुका गोविन्द बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेघराजको शव प्रहरीले आइतबार खनेर निकालेको हो। भीरबाट लडेर ज्यान गुमाएका एकै घरका दुई बालबालिकाको पोस्टमर्टम नगरी अन्त्येष्टि गरिएको भन्दै प्रहरीले खोटाङमा गाडिएको शव निकालेको छ। दुर्घटना वा आत्महत्याका घटनामा ज्यान गुमाएकाहरूको अनिवार्य शव परीक्षण गर्नुपर्ने कानुनी प्रावधान पूरा गर्न प्रहरीले शव उत्खनन् गरेर नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । छोराछोरी खोज्दै जाने क्रममा बुबा गोविन्दले सापतेलको जंगलभित्र रहेको खरूवा खोला नजिकै छोरीको शव फेला पारेका थिए भने त्यहाँभन्दा केहीमाथि छोराको शव भेटिएको थियो।
त्यसदिन रातभरी गाउँलेले रुँघेर भोलिपल्ट शुक्रबार उनीहरूको अत्येष्टि गरेका थिए। सदरमुकामबाट २५ कोस टाढा रहेको गाउँका सबैले भीरबाट लडेर बालबालिकाले ज्यान गुमाएको ठहर गरेपछि उनीहरूको अन्त्येष्टि भएको थियो। भीरबाट लडेर ज्यान गुमाएका बालबालिकाको शवको पोस्टमर्टम नै नगरी अन्त्येष्टि गरिएको थाहा पाएको प्रहरीले त्यसपछि चासो राख्दै टोली परिचालन गरेको थियो। जिल्लाबाट परिचालित टोलीले गाउँले, परिवार र जनप्रतिनिधिको आग्रह अस्वीकार गर्दै शव खोतलेर सदरमुकाम लगेको थियो। दिप्रुङ चुइचुम्मा ३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले प्रहरीले शव उत्खनन् गरेर पीडित परिवारलाई झनै दुःख दिएको भन्दै गुनासो गरेका छन्।
खोटाङ प्रहरीका निरीक्षक सुशान्त मिश्रले आफूहरूले बालबालिकाले भीरबाट लडेर ज्यान गुमाएको सूचना पाएको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए।














