मोबाइलले यसरी भंग गरिरहेको छ हाम्रो एकाग्रता र शान्ति

14

बसमा यात्रा गर्दा, खाली समयमा वा टिभी हेर्दा प्रत्येक दोस्रो व्यक्ति मोबाइलमा व्यस्त देखिन्छ । उनीहरूका औंलाले सामाजिक सञ्जाललाई निरन्तर स्क्रोल गरिरहन्छन् । यसले के देखाउँछ भने अहिलेको डिजिटल युगमा, मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, जसले एकातिर हामीलाई संसारसँग जोडेर राख्छ, भने अर्कोतर्फ हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई बिस्तारै कमजोर बनाउँदैछ ।ध्यानलाई मानिसको सबैभन्दा ठूलो शक्ति मानिन्छ । पूर्ण ध्यान अर्थात् ध्यान केन्द्रित गरेर काम गर्ने व्यक्तिले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छ । तर, मोबाइल र सामाजिक सञ्जालको बानीले ध्यानको यो शक्तिलाई बिस्तारै कमजोर बनाउँदैछ ।हो, मोबाइल संसारले हामीलाई तत्काल सुविधा दिएको छ, तर बदलामा यसले हाम्रो ध्यान, धैर्य, मानसिक स्थिरता र क्षमतामा गहिरो असर पारेको छ । त्यसैले, हामीले यो डिजिटल बानीलाई बुझ्नु आवश्यक छ । आफ्नो संसारलाई स्क्रिनमा चलिरहेको संसारसँग यति हदसम्म नजोड्नुहोस् कि त्यहीँ तपाईंको संसार बनोस् ।

मोबाइलले कसरी ध्यान भड्काइरहेको छ ?

वास्तवमा, हरेक क्षण सामाजिक सञ्जालमा केही न केही नयाँ सामग्री आइरहन्छन् । सूचना आएर सूचित हुनु राम्रो कुरा हो ।

तर, सूचना हर सेकेन्डमा निरन्तर बाढी जसरी ओइरो लाग्दा हाम्रो दिमाग सतही जानकारीमा अड्किन्छ र गहिरो रूपमा सोच्न वा एक ठाउँमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।

अर्को कारण भनेको सामाजिक सञ्जालमा हामी केही सेकेन्डमा एउटा पोस्टबाट अर्को पोस्टमा जान्छौं । यो बानीले दिमागलाई बिस्तारै लामो समयसम्म एउटै काममा ध्यान केन्द्रित गर्नबाट रोक्छ ।

त्यति मात्र होइन, अहिले एउटा रिल वा भिडियो समेत लामो समयसम्म हेर्ने धैर्य हामीसँग छैन । एउटा हेर्दाहेर्दै हामी यसलाई बीचमा छाडेर अर्को भिडियोमा जान्छौं । फलस्वरूप, लामो समयसम्म कुनै पनि काममा ध्यान केन्द्रित गर्न गाह्रो हुँदै गइरहेको छ । यसले विचार र बानीहरू पनि प्रभावित हुन्छन् ।

१. निर्णय लिन नसक्ने

सामाजिक सञ्जालमा धेरै विकल्पहरू बीच दिमाग अलमल्लमा पर्छ । र, थकित महसुस गर्न थाल्छ । जसकारणले निर्णय लिने क्षमता प्रभावित हुँदै गइरहेको छ । जीवनमा महत्त्वपूर्ण निर्णय लिनुपर्दा, हाम्रो दिमाग गहिरो रूपमा सोच्न असमर्थ हुन्छ ।

२. रचनात्मकताबाट टाढा हुँदै

मोबाइलको दुनियाँमा अल्झिएर, मानिसहरू बिस्तारै चित्रकला, लेखन वा संगीत जस्ता आफ्ना रचनात्मक गतिविधिहरूबाट टाढा हुँदै गइरहेका छन् । पढ्ने रुचि पनि घट्न थालेको छ । एकातिर किताब र अर्कोतिर मोबाइल हुँदा धेरैजसो मानिसहरू मोबाइल उठाउन रुचाउँछन् ।

३. मल्टिटास्किङ गर्ने बानी

एकै पटकमा धेरै एपहरूमा चाहार्दा मानिसलाई एकैसाथ धेरै काम गर्न सकिन्छ भन्ने भ्रम हुन्छ । जबकि, वास्तविकतामा, तिनीहरू आफ्नो पूर्ण क्षमतामा एउटा काम पनि गर्न सक्षम हुँदैनन् ।