वार्सा (पोल्याण्ड), साउन २४ – काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिका सिंगेका ३५ वर्षीय कृष्ण बजगाईंको पोल्याण्डमा असामयिक निधन भएको छ। उनी प्यान्क्रियाजको उपचार गराइरहेका थिए। एक्कासी पेट दुखेपछि जुन २७ तारिखका दिन अस्पताल भर्ना भएका बजगाईंको अगस्ट ७ मा निधन भएको आफन्तलाई उद्धृत गर्दै एनआरएनए पोल्यान्डले जानकारी दिएको छ ।
बजगाईं सन् २०१६ मा रोजगारीको सिलसिलामा पोल्याण्ड आएका थिए। उनी उस्त्रोनी मोर्स्की सहरमा श्रीमती अञ्जु गौतमसँग बस्दै आएका थिए।
उनको शव हाल कोअब्जेगको रिजनल अस्पतालको शवगृहमा राखिएको छ। गैरआवासीय नेपाली संघ पोल्याण्ड (NRNA Poland) का अनुसार, आवश्यक कानुनी प्रक्रिया पूरा गरी पार्थिव शरीर नेपाल पठाउने तयारी भइरहेको छ ।
यसैबीच बजगाईंको पार्थिव शरीर नेपाल पठाउन NRNA पोल्याण्डले सहयोग अभियान सुरु गरेको छ।
संस्थाका सदस्य आशिष श्रेष्ठका अनुसार, प्रारम्भिक चरणमा कार्यसमितिबाट PLN 3000 (झण्डै १ लाख ८ हजार नेपाली रुपैयाँ) बराबरको सहयोग घोषणा गरिएको छ।
अब सार्वजनिक सहयोग संकलन पनि सुरु भैसकेको उनलाई उद्धत गर्दै जर्मनी निवासी पत्रकार दीपक धितालले जनाएका छन् ।
संस्थाले सहयोग पारदर्शी ढंगले संकलन गरिने र संपूर्ण रकम मृतक परिवारलाई हस्तान्तरण गरिने बताएको छ।
–दीपक धितालको सहयोगमा













