काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । यो घटना सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा शुक्रबार भएको हो । मोटरबाट खेतमा पानी पटाउन लाग्दा करेन्ट लागेर ४२ वर्षीय शम्भु इसर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटर चलाइरहेका बेला अचानक करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताए । मृतक इसर गाउँमै कुटानी–पिसानी तथा तेल पेल्ने मिल सञ्चालन गर्दै आएका थिए ।
साता दिनयता सप्तरीमा छिटपुट वर्षा भए पनि पर्याप्त पानी नपुगेपछि स्थानीयहरू मोटरबाट तानेर खेतमा पानी हालेर रोपाइँ गरिरहेका छन् । तर सामान्य असावधानीले अकालमै ज्यान गुमाउने घटना भइरहेका छन् । अघिल्लो शनिबार पनि खेत पटाइरहेका सप्तरीको खडक नगरपालिका–११ का ५८ वर्षीय मोहम्मद युनुस मियाको करेन्ट लागेर मृत्यु भएको थियो ।













