पर्वत : कास्कीको पोखरा महानगरपालिकाले ‘नगर ऊर्जा योजना’ सार्वजनिक गरेको छ। दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप तयार गरिएको प्रथम ‘नगर ऊर्जा योजना’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले वि.स २१०० सम्ममा ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको लक्ष्य सहित पोखरा महानगरपालिका कार्बन तटस्थ सहर निर्माणको अभियानमा प्रतिबद्धताका साथ लागिरहेको बताए।
किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जामा सबै नागरिकहरूको पहुँच सुनिश्चित गर्ने दिगो विकासको विश्वव्यापी लक्ष्य अनुरूप महानगरभित्र स्वच्छ ऊर्जा र ऊर्जा दक्षतामा जोड दिने उद्देश्य सहित ‘नगर ऊर्जा योजना’ निर्माण गरिएको आचार्यको भनाइ छ। दैनिक जीवनमा प्रयोग गरिने सामाग्रीहरूमा विद्युतीय उपकरणहरूको उपयोग गर्दै नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गरी कार्बन उत्सर्जनको खुद शून्य २०४५ को लक्ष्य अनुरूप नीतिहरू अवलम्बन गरिएको उनले बताए। पोखराको कार्बन तटस्थता लक्ष्य र समृद्ध पर्यटकीय पोखरा निर्माणका लागि समग्र ऊर्जा स्थितिको अध्ययन सहित सम्भावित योजनाहरूको पहिचानका लागि नगर ऊर्जा योजना (२०८१–८६) तयार गरिएको आचार्यले बताए। यसले महानगरको ऊर्जा दक्ष प्रविधिहरूको एकीकरणसँगै किफायती, स्वच्छ र भरपर्दो ऊर्जा विकासका लागि उल्लेखनीय योगदान गर्ने उनले विश्वास व्यक्त गरे।
‘पोखरा महानगरपालिकाको घरेलु, व्यवसायिक र औद्योगिक क्षेत्रमा ऊर्जा प्रयोगको अवस्था सहित ऊर्जा दक्षताको पहिचान, दक्ष र भर पर्दो ऊर्जामा नगरवासीहरूको पहुँच अभिवृद्धि, स्थानीय आर्थिक विकासमा टेवा र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दिशामा नगर ऊर्जा योजनाले महत्त्वपूर्ण भूमिका खेल्नेछ’ नगरप्रमुख आचार्यले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमन सम्बन्धी योजना तथा नीति तर्जुमा सम्बन्धी अधिकारको उपयोग गर्दै नगर क्षेत्रको ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरपालिकाको प्रथम नगर ऊर्जा योजना तयार गरिएको हो।’ऊर्जा योजना कार्यान्वयनका लागि पाँच वर्षसम्म एक अर्ब ३३ करोड ३० लाख ८२ हजार लाग्ने अनुमान गरिएको छ। महानगरको ग्रामीण क्षेत्रका घरहरूमा सुधारिएको चुल्हो प्रवद्र्धन, सहरी क्षेत्रमा विद्युतीय चुल्होको प्रयोगमा प्राथमिकता, नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा वृद्धि, ऊर्जा दक्षता सुधार लगायतका कार्यहरूलाई योजनाबद्ध ढङ्गले व्यवस्थित रूपमा सम्पादन गर्न नगर ऊर्जा योजना (२०८१–८६) ले नीतिगत व्यवस्था गरेको छ।
कार्यक्रममा ऊर्जा विशेषज्ञ डा.नारायण प्रसाद चौलागाई, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.नारायण प्रसाद अधिकारी, पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया लगायतले ‘नगर ऊर्जा योजना’ ले समग्र महानगरको ऊर्जा व्यवस्थापनमा स्पष्ट नीतिगत मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। नगर ऊर्जा योजनाले दक्ष र दिगो ऊर्जामार्फत समुन्नत पोखराको परिकल्पना र ऊर्जा स्वच्छता र दक्षता मार्फत कार्बन तटस्थ पोखराको निर्माण गर्ने ध्येय राखेको छ। यसले घरायसी तहमा स्वच्छ र दक्षता सहित नवीकरणीय ऊर्जाको उत्पादन तथा उपयोगलाई प्रभावकारी बनाउने, व्यवसायमा परम्परागत तथा आयातित इन्धन न्यूनीकरण गर्दै ऊर्जा दक्षता सहित नवीकरणीय ऊर्जाको उपयोग बढाउने, उद्योगहरूबाट हुने हरित गृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्दै नवीकरणीय ऊर्जा उपयोग र दक्षता अभिवृद्धि गर्ने र वातावरण संरक्षण र आर्थिक समृद्धिका लागि नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता नीति र शैक्षिक अभियानहरू मार्फत दिगो अभ्यासहरूमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।













