नेपाल भारोत्तोलन संघको अधिवेशन विवादमा

31

काठमाडौ । नेपाल भारोत्तोलन संघको साधारणसभा तथा अधिवेशन विवादमा परेको छ । राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति नदिएपछी संघको यो विवाद चुलिएको हो । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार जिल्ला र प्रदेशमा नेपाल भारोत्तोलन संघ गठन नभएको कारण देखाउदै यहि साउन १५ गते बिहिवार गर्न लागेको साधारणसभा तथा अधिवेशनका स्वीकृति दिन नसकिने जनाएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ६ को २३ र २४ अनुसार केन्द्रिय संघको साधारणसभा र अधिबेशन गर्नका लागि कम्तीमा एक प्रदेशको ४ जिल्लामा संघको शाखा गठन भएपछि मात्र प्रदेश संघ गठन हुन्छ र न्युनतम पनि चार प्रदेश संघ गठन हुनुपर्ने विधान रहेको छ । हाल कोशी प्रदेश एउटा मात्रै गठन भएकाले केन्द्रिय संघको साधारणसभा तथा अधिवेशन अस्वीकृति गरेको राखेपले जनाएको छ। राखेपको संघसंस्था समन्वय शाखाले संघलाई पत्र मार्फत परिषदले कोशी प्रदेश मात्रै गठन भएको पत्र प्राप्त भएको र अन्य प्रदेशको जिल्ला गठन भएको कागजातसमेत प्राप्त नभएकाले उल्लेखित कागजात प्राप्त भएपछि मात्रै संघको साधारणसभा र निर्वाचनका लागि स्वीकृति प्रक्रिया अगाडि बढाउन सकिने जानकारी गराएको छ ।

शाखाका एक कर्मचारीका अनुसार ऐनले निर्दिष्ट गरेका सम्पूर्ण प्रक्रिया पूरा गरेर कागजात पेश भएपछि मात्रै साधारणसभा र निर्वाचनको स्वीकृति दिइनेछ । जुन भारोत्तोलन संघका हकमा नियम अनुसारको प्रक्रिया पूरा गरेर कागजात पेश गर्न सकेको छैन ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “ऐन विपरीत चौधरी समुहले भारोत्तोलनलाई विशेष खेल बनाउन लाग्नुभयो । त्यसमा असफल भएपछी स्थानीय तह गठन नगरी नियम विपरीत सिधै जिल्ला गठन गरि प्रक्रिया नै पूरा नगरी जबरजस्ती रुपमा साधारणसभा र अधिवेशन गर्न लागिपरेका छन् “। अध्यक्ष श्रेष्ठले ‘ऐन अनुसार प्रक्रिया पूरा नभएको भनेर परिषद्ले पत्र दिइसकेको अवस्थामा जबर्जस्ति साधारणसभा गर्न लागिपरेको बताउनुभयो ।
संघका सचिव कुमारमान श्रेष्ठले वि. स. २०७६ साल माघ १८ गते रामकृष्ण श्रेष्ठ(बोस) को नेतृत्वमा गठित नेपाल भारोत्तोलन संघको चार वर्ष कार्यकाल २०८० मा सकेपछि निर्वाचन नगराएको भन्दै कानन चौधरीको संयोजकत्वमा गठित तदर्थ कमिटी गठन गरि पहुँचको आधारमा अहिले साधारणसभा र अधिवेशन गर्न खोजेको आरोप लगाउनुभयो । नियमविपरीत सो तदर्थ समितीले साधारणसभा र अधिवेशन गर्न लागेको भन्दै यस विरुद्ध संघले गत आइतबार राखेपलाई पत्र मार्फत ध्यानाकर्षण समेत गराएको उहाँले बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्ले गत चैत २९ गते विभिन्न ६ खेल विघटन गर्दै तदर्थ कमिटी बनाएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा राखेपको १२२ औं बैठकले ६ खेल संघ विघटन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार भारोत्तोलन, ब्याडमिन्टन, एथलेटिक्स, टेनिस, जिम्न्यास्टिक, साइक्लिङ, टेनिस र ह्यान्डबल संघ विघटन गर्दै तदर्थ कमिटी बनाइएको थियो । सो कमिटीको समयावधि यहि साउन १५ गते नै समाप्त हुदैछ । नियमानुसार तदर्थ कमिटी आफै गठन गरि आफै निर्वाचनमा सहभागी हुने व्यवस्था छैन । तदर्थ कमिटीकै सम्पुर्ण सदस्यहरुलाइ जानकारी नदिइ निर्वाचन गराउन लागेको कमिटीकै एक सदस्यले बताए ।