सन् २००३ मा अमेरिका गएका विनय शाहले सन् २००७ मा अमेरिकाबाट इन्टरनल मेडिसिनमा एमडी पास गरे। एमडी पास गरेलगत्तै सन् २०१० देखि ३ वर्षसम्म अंकोलोजी र हेमाटोलोजीमा फेलोसीप गरे। उनले १३ वर्षसम्म मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट भएर काम गरे। त्यसयता भने उनी गैरनाफामुलुक संस्था विनय-तारा फाउण्डेसनमा पूर्ण रूपमा लागेका छन्। उनी यो संस्थाको अध्यक्ष र सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन्।
नर्सिङ पेसामा रहेकी उनकी श्रीमती तारासँग मिलेर उनले सन् २००५ मै यो संस्थाको सुरूआत गरेका थिए। जतिबेला उनी आवासीय चिकित्सकको रूपमा दोस्रो वर्षमा अध्ययनरत थिए। ‘सन् २०१० मा मेडिकल अंकोलोजिष्ट र हेपाटोलोजिष्ट भएर मैले अमेरिकाका विभिन्न अस्पतालहरूमा काम गरेँ। नेपालमा रहँदा पनि खुसी साथ काम गरेको हो। नेपालमा भन्दा अमेरिकामा उपचार गर्ने तरिका र प्रविधिमा फरक छ,’ उनले भने, ‘मुख्य कुरा त प्रविधिले नै गर्ने हो। त्यसपछि जनशक्तिको कुरा आउँछ। अमेरिकामा एउट टिमले प्रमाण र परीक्षणका आधारमा उपचार गर्छ।’ अमेरिकामा नेपालमा जस्तो मर्यादाक्रम अनुसारको काम नहुने भन्दै उनले त्यहाँ नयाँ विज्ञ भए पनि त्यही अनुसारको जिम्मेवारी पाउन सक्ने बताए।













