काठमाडौं । राजनीतिमा अनावश्यक कदम चालेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार भएको आन्दोलन हिंसामा परिणत भएको थियो । दिनभर तनावग्रस्त बनेको तीनकुने क्षेत्रमा एकजना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको थियो । राजावादीले एउटा घरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको पनि मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् ।
पूर्वराजाका समर्थकले थप १० ठाउँमा लुटपाट गरेको प्रहरीले जनाएको छ । घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो ।
दुईजनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको छानबिन अघि बढेसँगै देशबाट भाग्न नदिन राहदानी रद्द गर्न लागिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ । गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ ।