सालकको खपटासहित २ जना पक्राउ

12

काठमाडौँ । नेपाल प्रहरीले सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौं महानगरपालिका-१६, माछापोखरीबाट २ जनालाई सालकको ७७० ग्राम खपटासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुइचुम्पा-२ का २९ वर्षीय उमेश तामाङ र सिन्धुली, तीनपाटन-६ का ३० वर्षीय मोहन पुलामी मगर छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराका अनुसार उनीहरूसँग २ वटा मोबाइलसमेत बरामद गरिएको छ । बरामद सालकको खपटा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाइएको एसपी बोहराले जानकारी दिए । आईयूसीएनले सालकलाई निकट भविष्यमै लोप हुनेसक्ने भनेर ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ समूहमा समावेश गरेको छ । सालक नेपालको संरक्षित वन्यजन्तु हो ।