काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा कार्यक्रममा शनिबार झिरझिरे क्यान्डलको झिल्काले भेटर बेलुनको झुप्पा पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य कीर्तिपुर अस्पतालमा उपचाररत छन् । सघन उपचार कक्ष ९आईसीयू० मा राखिएका उनीहरूलाई भेट्न विशिष्ट व्यक्तिहरूको लर्को लागिरहेको छ । घटनालगत्तै मन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई हेलिकोप्टर चार्टर्ड गरेर कीर्तिपुर अस्पताल ल्याइएको थियो । लगत्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पताल पुगेका थिए ।
आइतबार भने राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, ऊर्जामन्त्री दीपक खड्का, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत उच्चपदस्थ अधिकारीले उनीहरूलाई भेटे । उच्चपदस्थको लर्को लागेपछि अस्पतालले संक्रमणको जोखिम हुने भन्दै आइतबार सूचना जारी गरेर भेटघाटमा रोक लगाएको छ । त्यही अस्पतालमा साताअघि काठमाडौं, कमलपोखरीस्थित सानदार मःम पसलमा सिलिन्डर विस्फोट हुँदा घाइते भएका मजदुरको उपचार भइरहेको छ । माघ २४ को विस्फोटमा परेका ११ जनालाई कीर्तिपुर अस्पतालमा लगिएकामा उपचारका क्रममा चार जनाको मृत्यु भइसकेको छ । अहिले दुई जनालाई आईसीयूमा र पाँच जनालाई जनरल वार्डमा राखेर उपचार गरिँदै छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।













