सार्वजनिक शिक्षा सुधारको माग: माइतीघर मण्डलामा दिनभर उभिएर धर्ना

10

काठमाडौँ । सुधारको माग राख्दै समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईले माइतीघर मण्डलामा दिनभर उभिएर धर्ना दिइरहेका छन् । सात वटै प्रदेशको राजधानीमा २/२ दिन उभिएर १४ दिन धर्ना दिएपछि काठमाडौँ आएका उनी गत आइतबारदेखि माइतीघरमा उभिएका छन् । सरकार र शिक्षा मन्त्रालयले भने आफूले उठाएका विषयप्रति चासो नदिएको उनले गुनासो गरे । पुसको मध्य चिसोमा उनी सडक पेटीछेउ बिहान १० बजेदेखि साँझ ५ बजे सम्म उभिन्छन् ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ को सुझावअनुसार शिक्षा ऐन शीघ्र जारी हुनुपर्ने उनको मुख्य माग छ । १५ बुँदे मागमध्ये चापागाईका अधिकांश माग सामुदायिक विद्यालय सुधारमा केन्द्रीत छन् । गत जेठमा पनि उनले माइतीघरमा दुई सातासम्म उभिएर धर्ना दिएका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठसँग सम्झौता भएपछि धर्ना टुंगिएको थियो । तर छ महिनासम्म सम्झौता कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले तत्परता नदेखाएपछि दबाव दिन आफूले पुनः धर्ना सुरू गरेको उनले बताए । त्यसो त पहिलेको सम्झौता कार्यान्वयन गर्न उनले गत असोजमा शिक्षामन्त्री विद्या भट्टराईलाई भेटेर १४ बुँदे सुझाव समेत दिएका थिए ।