”बोक्सी भन्दै कुटे श्रीमान आएकाले बाचेँ”

16
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

धनगढी — कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । गाउँका ‘गुरुवा’ थारू समुदायको देउता मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् ।

उनका अनुसार २५ वर्षीय मनोजलाई गुरुवा आएको भन्दै पुस १ गते दिउँसो सबै परिवारबाट एक–एक हजार उठाइएको थियो । उनले पनि माइतीबाट एक हजार मागेर बुझाएकी थिइन् । राति ८ बजेतिर घरमै बच्चा स्याहार्दै बसेका बेला रामलाल चौधरी, करन चौधरी र जयराम चौधरी आए । ‘तँ बोक्सी होस्, हामीलाई सताउँछेस् भन्दै मलाई घरभित्रबाट निकालेर आँगनमा कुट्न थाले,’ उनले सुनाइन्, ‘जयरामका छोरा रमेशले कुटपिट गर्न नहुने भन्दै आफ्नो बुबालगायतलाई फर्काएर लगे ।’

कुटपिट हुँदा घरमा हसिना र उनका दुई बच्चा मात्र थिए । त्रासमा रात बिताउनुपरेको हसिनाले सुनाइन् । श्रीमान् चुन्नीलाल मजदुरीका लागि चार दिनअघि भारतको पुने गएका थिए । परिवारको आम्दानीको स्रोत नै ज्यालामजदुरी मात्र हो । ‘मैले भोलिपल्टै श्रीमान्लाई फोन गरेर बोक्सीको आरोपमा आफूमाथि कुटपिट भएको सुनाएँ । प्रहरीमा पनि निवेदन दिएँ,’ हसिनाले भनिन् ।

प्रहरीमा निवेदन दिएको पर्सिपल्ट पनि हसिनामाथि कुटपिट भयो । दिउँसो ३ बजेतिर जयराम, रामलाल, करन, रूपा चौधरीलगायत पाँच महिला र ६ पुरुषको समूह उनको घर पुग्यो । ‘एक्कासि मेरो घर आएर उनीहरूले मलाई घरबाट निकालेर कुटपिट गरे । जगल्टा लछार्दै गुरुवा मनोजको घर पुर्‍याए । गुरुवाको घरमा आँगनमा बिछ्याइएको परालमा सुताए ।

त्यसपछि केहीले लट्ठीले हाने, कसैले लात्तैलात्ताले हाने,’ हसिनाले सुनाइन्, ‘त्यसपछि शरीरमा पानी खन्याए । बोक्सी हुँ भन् भन्दै कबोल गर्न भने तर म बोक्सी होइन भनें । मैले नमानेपछि फरुवाले मेरो गर्धनमा ताक्दै गर्दा मेरो श्रीमान् आइपुग्नुभयो । त्यसपछि म बाँचें । अनि के भयो, मलाई याद छैन ।’ -इकान्तिपुरबाट