वडाबासीहरुको चाहाना अनुसार काम गरिरहेको चाँगुनारायणका वडाअध्यक्ष हरुको दाबी

125

भक्तपुर । चाँगुनारायण नगरपालिकामा आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुले स्थानिय बासिन्दाको चाहाना अनुसार नै काम गरेका दाबी गरेका छन् । कार्यक्रममा बोल्दै २ नं वडाका वडाध्यक्ष सोम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे । हालैको एसईईको नतिजामा पनि नगरभरिमै सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी सोही वडाको सामुदायिक विद्यालयको रहेको उनको भनाइ थियो । तर, सामुदायिक विद्यालय पढाउने शिक्षकले आफ्ना बालबालिकाहरु भने निजी विद्यालयमा पढाउँदा विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको अध्यक्ष प्रधानको भनाइ थियो । वडाबासीलाई घरघरममै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ् कार्यक्रम’ लागू गराउने उनले जानकारी दिए ।

६ नं वडाका अध्यक्ष धन बहादुर लामाले हरेक आवश्यकता पुरा गर्ने प्रयास गरिएको दाबी गर्दै वडाले आफ्नै क्यालेण्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडकको दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएको लामाले बताए । भूकम्पका कारण थलिएको अर्थतन्त्र र त्यसपछिको कोरोना महामारीका कारणले भएको आर्थिक मन्दिका कारण पनि नगरकोटमा पर्यटक घट्दै गएको उनले बताए । नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थान भनेर ‘रि–ब्राण्डिङ’ गर्न आवश्यक रहेको वडाध्यक्ष लामाले बताए ।

हिन्दु धर्मको स्कन्दपुराणलाई आधार बनाएर महादेवपोखरी र बौद्ध धर्मको स्वयम्भू पुराणलाई आधार मानेर महामञ्जुश्रीको प्रचारप्रसार गर्न सके विभिन्न देशका पर्यटकहरु धार्मिक पर्यटनका लागिसमेत उक्त स्थान आउन सक्ने लामाको भनाइ थियो ।

कार्यक्रममा बोल्दै ७ नम्बर वडाका अध्यक्ष श्याम नायजु श्रेष्ठले आफू निर्वाचित भएर आएपछि अघिल्ला कार्यकालमा पुरा नभएका कार्यहरुलाई निरन्तरता दिएको बताउँदै पछिल्लो समय धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माण आदिका कार्यहरु समेत गरिएको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिएका थिए । उनले पुरातात्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र औंल्याएका थिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले स्थानीय तहदेखि संघीय सरकारसंगको समन्वयमा अध्ययन, अनुसन्धान लगायका काम गर्दै आएको बताए ।