काठमाडौं । नेपालले अमेरिकालाई १७१ रनको चुनौती दिएको छ।अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा ब्याटिङमा आएका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९२ रन बनाए। ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल साहले ३१ बलको सामना गर्दै २५ रन जोडे। उनले दुई चौका र एक छक्का प्रहार गरे। गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे। कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए।
दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके। आरिफ शेख १ रन बनाएर आउट भएको खेलमा एक बल खेल्न मैदान पुगेका करण केसीले छक्का प्रहार गरे। कमजोर सुरुवात गरेको नेपालको मध्यक्रम चल्दा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो।नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ। तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो।
रोहितकुमार पौडेलको कप्तानीमा नेपालको प्लेइङ-११ मा अनिल शाह, आशिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, रिजन ढकाल र सागर ढकाल समावेश छन्। अमेरिकाले भिसा नदिएर रोकिएका सन्दीप लामिछानेसमेत शुक्रबार भिसा पाएपछि अमेरिका उडिसकेका छन्। आजको खेलमा सन्दीप सहभागी छैनन्।