निर्वाचन कांग्रेसले एक्लै लड्ने, गठबन्धन नगर्ने

25

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गरेको छ। २०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा गगनले अबका निर्वाचन एक्लै लड्ने गरी गरेको प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो ।साउन २३ देखि चलेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतरपक्षबीच मुख्य गरी यी दुई विषयमा मतभेद देखिएको थियो ।

गत फागुन १० मा सम्पन्न महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम टुंगो लगाउने गरी उपसभापति पूर्णबहादुर खड्काको नीति, थापाको संगठन र शर्माको समसामयिक राजनीतिक प्रतिवेदन पारित भएको थियो । त्यतिबेला उपसभापति खड्काको नीति प्रतिवेदनमा माओवादी सशस्त्र युद्धलाई लिएर गरिएको व्याख्या र महामन्त्री थापाको चुनावी गठबन्धन नगर्नेसम्बन्धी प्रस्ताव विवादित बनेका थिए । माओवादीसँगको गठबन्धन तोडिएपछि खड्काको प्रतिवेदनलाई सामान्य भाषा मात्रै संशोधन गरिएको छ । चुनावी गठबन्धनको विपक्षीमा रहेका थापाको प्रस्तावबाट ‘गठबन्धन’ शब्द हटाएर संशोधन गरिएको छ ।

‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनःस्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनलाई संशोधित गर्दै भनिएको छ, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनावचिह्न रूखमा नै मत हाल्ने पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’