कविताः देश कसलाई चाहिएको छ महोदय

27

-हेमराज ढकाल

यो देश कसलाई चाहिएको छ महोदय ?
तिम्रो छोराछोरी युरोप अमेरिका तिर छन्
सके टोपी लगाउन न सके नातिनातिनालाई
तेल लगाउन तिमी पनि उतै जान्छौं भासिन्छौ महोदय ।

उसलाई पनि आफ्नो धर्म चाहिएको छ
जात चाहिएको अनि राज्य चाहियो भन्छ ।
भेषभुसा, रितिथिती संस्कृति जोगाउछु भनेपनि
यो देश जोगाउछु, माटो बचाउछु भन्न सक्दैन महोदय ।

उहाँलाई सधै आफ्नो पार्टी जोगाउनु छ
कार्यकर्तालाई आफैलाई मोटाउनु छ
जसरी हुन्छ आउँदो चुनावमा भोट फकाउनु छ
यो देश कसलाई जोगाउनु छ महोदय ?

हामी हिमाल, पहाड, मधेस तराईमा बस्ने
करोडौं भुई मानिस श्रमजीविहरूलाई
जसले बिना स्वार्थ युगौ-युग
यो देशलाई बचाएका छौ
हामीलाई चाहिएको छ यो देश महोदय ।