काठमाडौँ : मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ। आर्थिक वर्ष २०७२।७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०।८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ। आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो। गत आवमा सबैभन्दा बढी गार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ। बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आवसम्म आइपुग्दा चार सय युनिट पुगेको छ। आठ वर्षअघि बर्खायाममा समेत दैनिक आठ घण्टा विद्युत्भार कटौती थियो। हिउँदमा दैनिक १४ घण्टासम्म विद्युत्भार कटौती गर्नुपर्ने प्रक्षेपण थियो। विसं २०७३ को कात्तिकदेखि काठमाडौँ उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख शहरमा गार्हस्थ्यतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको विद्युत्भार कटौती अन्त्य गरिएको थियो।
सरकारले २०७५ वैशाखदेखि सिङ्गो मुलुक विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो। आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ। विद्युत्को पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ‘ग्रिड’बाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्। आठ वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेका छन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत्भार कटौती अन्त्यपछि पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् खपत बढेको बताए।