माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

19

आफू लामो समय पार्टीको नेतृत्वमा नबस्ने तर पार्टी बलियो बनाउने दाहालको प्रतिबद्धता तर नेतृत्व हस्तान्तरणमा पदाधिकारीबाटै संशय

काठमाडौँ । माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको, दोस्रो तहका नेताहरूको नेतृत्व विकासका लागि बाटो खुला नगरेको जस्ता प्रश्न उठाउने तयारीमा नेताहरू रहेका छन् ।

माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

माओवादीको गत साता भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले खुलेर धारणा राख्न भनेपछि पदाधिकारीहरूले सत्ताका लागि पटकपटक गठबन्धन फेर्दा सर्वसाधारणमा गलत सन्देश गएको, संगठनले गति लिन नसकेको, नेता तथा कार्यकर्ताको कार्यशैली झन् बिग्रिएको टिप्पणी गरेका थिए । उनीहरूले कांग्रेस–एमालेको गठबन्धन बनेपछि माओवादीलाई संगठन बनाउने अवसर आएको पनि उनीहरूले बताएका थिए ।

पदाधिकारी बैठकपछि मंगलबार विराटनगर पुगेका दाहालले आफू लामो समय पार्टीको नेतृत्वमा नबस्ने तर पार्टी बलियो बनाउन प्रतिबद्ध रहेको बताएका थिए । ‘मैले नेतृत्वमा रहेर दसवर्षे जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण हुँदै यहाँसम्म पार्टीलाई ल्याएको छु । अहिले पार्टी केही कमजोर अवस्थामा पुगेको छ,’ दाहालले भनेका थिए, ‘अब सरकारतिर फर्केर होइन, जनतातिर फर्केर पार्टी बलियो बनाएर नेतृत्व हस्तान्तरण गर्छु ।’

तत्कालीन मसालका महामन्त्री मोहन वैद्यलाई विस्थापित गरी २०४६ मा महामन्त्री भएका दाहाल नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रमा अध्यक्ष भएर निरन्तर नेतृत्व गरिरहेका छन् । पछिल्लोपटक २०७८ पुसमा भएको आठौं महाधिवेशनले उनलाई पुनः अध्यक्षमा चयन गर्‍यो । महाधिवेशनमा पुस्तान्तरणको माग भए पनि पुरानै नेतृत्व दोहोरिएपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । उनले सर्वाधिकार प्रयोग गरी पार्टी चलाउन दोस्रो पुस्ताका नेतालाई आपसमा भिडाएको आरोप पनि लाग्दै आएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।